आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस मनाइँदै
काठमाडौँ, १९ मङ्सिर – आज विश्वभर अन्तरराष्ट्रिय स्वयंसेवक दिवस (International Volunteer Day) र विश्व माटो दिवस (World Soil Day) मनाइँदैछ। दुवै दिवस संयुक्त राष्ट्रसङ्घको पहलमा हरेक वर्ष डिसेम्बर ५ मा मनाउने गरिन्छ।
स्वयंसेवक दिवस : योगदान र सेवा संस्कृतिको सम्मान
स्वयंसेवकहरूको त्याग, प्रतिबद्धता र समाजसेवी भावनालाई सम्मान गर्न संयुक्त राष्ट्रसंघले सन् १९८५ देखि अन्तरराष्ट्रिय स्वयंसेवक दिवस मनाउन सुरु गरेको हो। सोही वर्ष राष्ट्रसङ्घीय महासभाले डिसेम्बर ५ लाई अन्तरराष्ट्रिय दिवसका रूपमा घोषित गरेको थियो। यस अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ महासभा हलमा सदस्य देशहरूले स्वयंसेवालाई राष्ट्रिय विकास रणनीतिमा समावेश गर्ने, स्वयंसेवी अभियानहरूलाई सुदृढ बनाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।
महासचिव एन्टोनियो गुटेरेसले जारी सन्देशमा प्राकृतिक विपद्का जोखिम मोली राहत पुर्याउनेदेखि द्वन्द्व प्रभावित समुदायलाई सहयोग, गरिबी निवारणमा क्रियाशील रहने स्वयंसेवकहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। उहाँका अनुसार स्वयंसेवकहरूको साहस, त्याग र मानवतावादी भावना विश्वका लागि प्रेरणाको स्रोत भएका छन्। हाल संयुक्त राष्ट्रका स्वयंसेवकहरू विश्वका १६९ सदस्य राष्ट्रमा शान्ति, न्याय र समानता स्थापनाका लागि सक्रिय रूपमा कार्यरत छन्।
विश्व माटो दिवस : माटो संरक्षण र दिगो कृषि व्यवस्थाको स्मरण
कृषि उत्पादन, वातावरणीय सन्तुलन र मानव अस्तित्वमा माटोको महत्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउन हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस पनि मनाइन्छ। माटोको दिगो व्यवस्थापन, संरक्षण, जलवायु परिवर्तनका प्रभाव कम गर्ने उपाय तथा दिगो कृषि प्रणालीका मुद्दामा विश्वभर बहस, अभियान र जनचेतनामूलक गतिविधि सञ्चालन गरिने गर्दछ।
संयुक्त राष्ट्रसंघले सन् २०१३ जुनमा विश्व माटो दिवस मनाउने घोषणा गरेको थियो। कृषक, वैज्ञानिक समुदाय, सरकार तथा आम नागरिकलाई माटो संरक्षणमा सचेत र सक्रिय बनाउनु यसको मुख्य उद्देश्य हो।

