तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने

हतियारकै बलमा अफगानिस्तान कब्जा गरेको विद्रोही संगठन तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने बताएको छ।

बीबीसीका अनुसार तालिबान संगठनका प्रवक्ताले समाचार च्यानल अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध समाप्त भयो। अब अफगानिस्तानमा कस्तो किसिमको शासन व्यवस्था हुन्छ, यसबारे चाँडै स्पष्ट पार्नेछौं।’

समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्वर्तार्तामा तालिबानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘सरिया कानुनअनुसार महिला र अल्पसंख्यकको अधिकार र स्वतन्त्रताको हामी सम्मान गर्छाैं।’

प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिबानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी पनि दिएका छन्।

उनले अगाडि भनेका छन्, ‘२० वर्षको प्रतीक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौं, त्यहीँ पुगेका छौं। हामी देश र जनताको स्वतन्त्रता चाहन्छौं। हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौं न न हामी नै कसैलाई हानि गर्न चाहन्छौं।’

Facebook Comments Box