पोखरामा आन्तरिक पर्यटक आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु
गण्डकी, ९ चैत – आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वी नेपालका प्रमुख सहर लक्षित गर्दै ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा सञ्चालन भएको उक्त कार्यक्रम चैत १३ गतेसम्म जारी रहनेछ।
करिब २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत वीरगञ्ज, हेटौँडा, विराटनगर र इलामलगायत सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिने हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। अभियानमा पोखराका पर्यटन तथा होटेल व्यवसायी र सञ्चारकर्मीसहित १९ सदस्यीय टोली सहभागी छ। टोलीले पूर्वी नेपालका पर्यटन व्यवसायीसँग साझेदारी, छलफल र अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गर्नेछ।
साथै, आन्तरिक पर्यटकलाई लक्षित विभिन्न आकर्षक पर्यटन प्याकेज पनि सार्वजनिक गरिनेछ। अभियानअन्तर्गत आगामी फेवा नव वर्ष महोत्सव को २१औँ संस्करणमा सहभागी हुन पूर्वी नेपालका बासिन्दालाई निमन्त्रणा दिइनेछ। उक्त महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारको लेकसाइड क्षेत्रमा आयोजना हुनेछ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरा लाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत पूर्वी नेपाल र पोखराबीच पर्यटकीय सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।
साथै, भद्रपुर र विराटनगरसँगको सिधा हवाई सेवा पुनः सञ्चालन तथा पर्यटक बस सेवा विस्तारका विषयमा समेत सहकार्य प्रस्ताव गरिने जनाइएको छ। पोखराको होटेल क्षेत्रमा मात्रै करिब छ खर्ब रुपैयाँ लगानी रहेको छ भने करिब १,२०० होटेल सञ्चालनमा छन्। यस क्षेत्रबाट करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

