आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदै
काठमाडौँ, १८ मङ्सिर – आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदैछ। यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न मुलुकमा मनाइने गरिन्छ। अन्तरराष्ट्रिय बैंक दिवसले बैंक तथा वित्तीय संस्थाहरुलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार तथा समावेशी आर्थिक विकासमा सक्रिय भूमिका बढाउन प्रेरित गर्ने उद्देश्य राखेको छ।
एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस भने यस वर्षदेखि मनाउन सुरु गरिएको हो। संयुक्त राष्ट्रसङ्घीय महासभाले यस वर्ष जून महिनामा गरेको निर्णयअनुसार अन्तरराष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घको चार्टरविपरीत हुने एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउँदै मुलुकहरूबीच सहकार्य र सहएकताको भावना प्रवर्द्धन यो दिवसको लक्ष्य रहेको जनाएको छ। यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई विशेष महत्व दिएका छन्।

