कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौँ, १९ मङ्सिर – काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैलीबारे सर्वेक्षण सुरु गरेको छ। कामपाको कृषि तथा पशुपन्छी विभागले मङ्सिर १६ गतेदेखि सुरु गरिएको कार्यक्रम मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ।

कार्यतालिकाअनुसार मङ्सिर २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी तथा जनप्रतिनिधि, र २३, २४ तथा २५ गते जनप्रतिनिधिहरूको सर्वेक्षण हुने छ। छुटेका व्यक्तिहरूलाई २६ गते सम्मिलित गराइने विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए।

न्यौपानेका अनुसार सहरी जीवनशैली क्रमशः निष्क्रिय बन्दै जाँदा मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहितका दीर्घरोगको जोखिम बढिरहेको र यसबाट बच्ने उपाय पहिचानका लागि सर्वेक्षण आवश्यक परेको हो। प्राप्त नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी नीतिनिर्माणमा वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा छ।

सर्वेक्षणमा उचाइ–तौलको आधारमा बीएमआइ मापन, उमेर र लिङ्गअनुसार बीआइए उपकरणबाट ‘बडी फ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’ तथा ‘टोटल बडी वाटर’को विवरण संकलन गरिनेछ। यसमा कामको प्रकृतिअनुसार मोटोपना, रक्तअल्पता तथा जीवनशैलीसम्बन्धी सूचक पनि समावेश गरिनेछ।

जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, तनाव, धुमपान–मद्यपानको बानी, निद्राको समय, डिजिटल उपकरणमा बिताउने समय र कार्यस्थलको वातावरणसम्बन्धी विवरण पनि लिइनेछ। मधुमेह र हेमोग्लोबिन परीक्षणमार्फत रक्तअल्पता जाँच गरिने व्यवस्था छ। खानाको रुचिअनुसार आहार मूल्याङ्कन तथा खाद्य समूहको अभिलेख तयार पारिनेछ।

सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय उत्पादनमा प्राकृतिक तत्व बढी पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक र तुलनात्मक रूपमा सस्तो हुने उल्लेख छ। कामपाले कर्मचारी र जनप्रतिनिधिबाट सुरुआत गरेको यो जीवनशैली सर्वेक्षणलाई आगामी दिनमा नागरिकस्तरमा विस्तार गरी खाद्य व्यवहार र जीवनशैली सुधारमा काम गर्ने योजना पनि सार्वजनिक गरेको छ।

Facebook Comments Box