‘सीप र कला कुनै जातको हुँदैन’
महोत्तरी, १५ मङ्सिर – “सीप र कला जातको हुँदैन। दमाहा बजाउँदा मलाई गर्व लाग्छ,” बर्दिबास–३ पाटुकी निरु पौडेल भन्छिन्। सुरुमा कतिपयले “बाहुनकी छोरीबुहारीले यस्तो काम किन गरिन्?” भनेर टिप्पणी गरे पनि उनले आफ्नो सीप छाडिनन्। “आज यही सीपले मलाई नाम र दुवै दाम दिएको छ,” उनले मुस्कुराउँदै सुनाइन्।
पञ्चे बाजा समूहमा निरु मात्रै होइनन्। क्षत्री, तामाङ, मगर, कामी, सार्की र दमाईँ समुदायका महिलासहित सबै जात–जातिका सदस्य यसमा संलग्न छन्। पुरुष–महिलाको भेद छैन। जातको कुरा छैन। सीप र कला मात्र। यही सोचका साथ उनीहरूले ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यावसायिक रुपमा बाजा बजाउँदै आएका छन्।
“हाम्रो समूहमा जात र लिङ्गको चर्चा नै हुँदैन,” समूहका अध्यक्ष रमेश पौडेल खत्री भन्छन्, “यहाँ कुरा सीप, लगन र कलाको हुन्छ।” १५ सदस्यबाट सुरु भएको समूह अहिले अत्यन्त व्यस्त छ। मङ्सिरयता उनीहरूलाई फुर्सदै छैन। “जति बोलावट आउँछ, सबैलाई समय मिलाउनै सकिँदैन। १५ जनामै भए पनि एकै समयमा दुई ठाउँमा भाग भएर जानुपर्छ,” खत्री भन्छन्, “कसैले केही भनिदेला, तर हामीसँग त त्यस्ता कुरा सुन्ने फुर्सद पनि छैन।”
समूहमा आठ जना महिला सदस्य छन्। समूहकी भाले–दमाहावादक सुभद्रा कार्कीका लागि यो काम व्यवसाय मात्र होइन, सामाजिक मुलुकका पुराना धारणाविरुद्धको संघर्ष पनि हो। “महिलाले यो बजाउन मिल्दैन, यो अमुक जातको काम हो भन्ने सोँच अझै बाँकी छ,” उनी भन्छिन्, “हामीले दमाहा समाएका छौँ—यो परम्परागत सोचविरुद्धको सानो विद्रोह पनि हो।
निरन्तर काम गरेपछि टिप्पणी हराउँदै गएका छन्, अहिले हामीलाई कलाकार–व्यवसायीका रूपमा हेरिएको छ।” समूहकी सहनाइवादक भीममाया क्याप्छाकी मगर जब सहनाइ बजाउन थाल्छिन्, दर्शक मुग्ध हुन्छन्। “कति मिलेको सुरताल! समर्पण नै देखिन्छ,” बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले प्रशंसा गर्दै भने। समूहले बर्दिबास नगरपालिकामा विधिवत दर्ता गरिसकेको छ। शुल्क पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ—
-
बर्दिबास–३ भित्र : ४५ हजार रुपैयाँ
-
नगरका अन्य १३ वडामा : ५५ हजार रुपैयाँ
-
नगर बाहिर : ६५ हजार रुपैयाँ
झ्यालीवादक जानुका विक भन्छिन्, “समूहमा आबद्ध भएपछि घरखर्चका लागि कसैलाई गुहार्नुपरेन। मधेसका धेरै जिल्लामा कार्यक्रम गर्यौँ।” सहनाइवादक अञ्जना तामाङका अनुसार उनीहरूले कोशी प्रदेशको उदयपुर र वागमती प्रदेशको सिन्धुलीसहित कैयौँ ठाउँमा प्रस्तुति दिईसकेका छन्। युवा पुस्ताले उनीहरूको समूहप्रति बढाउँदै लगेकाे चासोले कलाकारलाई अझ उत्साह मिलेको अध्यक्ष खत्री बताउँछन्। कलाकारहरू पनि यही रुचिले समूहप्रति विश्वास र प्रेरणा थपिएको बताउँछन्।

