कार्तिक कृष्ण आमावास्या : धन–धान्यकी देवी लक्ष्मीको पूजा आज

काठमाडौँ, ३ कात्तिक – आज कार्तिक कृष्ण औँसी, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, धन–धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी देशभर लक्ष्मीपूजा मनाइँदैछ। धार्मिक विश्वासअनुसार सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले बिहानै घर–आँगन सफा गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। झ्याल–ढोका, कोठा, सङ्घार, कौसी र भर्याङमा सरसफाइपछि दियो बालेर घर झिलिमिली पारिन्छ।

आजको रातलाई ‘सुखरात्री’ पनि भनिन्छ। पूजा गर्दा आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी, चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाएर घरभित्र ल्याइन्छ। ती पाइलामार्गमा केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरिन्छ।

लक्ष्मीस्थापनापछि गणेश, कलश, गरगहना, पैसा, धान, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ। पूजा पछि कन्या बालिका र छोरी–चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने चलन छ। घरमा पूजा गरेपछि धन वा सामग्री घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास पनि रहिआएको छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. देवमणि भट्टराईका अनुसार सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर “अलक्ष्मी भागोस्, लक्ष्मी र धन–धान्यको आगमन होस्” भनी कामना गर्ने विधि परम्परागत रूपमा पालन गरिन्छ।

आजै साँझ युवतीहरू समूह बनाई घरघरमा ‘भैलो’ खेल्ने गर्छन्। भगवान् विष्णुले बलिराजालाई स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान दिएका अवसरमा बलिराजाले “भलो होस्” भनी गाउन लगाएको स्मृतिमा भैलो खेल्ने परम्परा सुरु भएको जनश्रुति छ। “भलो होस्” भन्ने शब्द नै पछि अपभ्रंश भएर ‘भैलो’ बनेको बताइन्छ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। आजको दान कात्तिकको दान भएकाले नदिएमा अपशकुन र दिएमा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। लक्ष्मीपूजाका अवसरमा आज सहर बजार झिलिमिली दीपावलीले उज्यालो बनेका छन्। कतिपय परम्परामा आजै बिहान गाई पूजा गर्ने चलन छ, यद्यपि शास्त्रीय रूपमा भने औँसीपछि लाग्ने कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा गर्नुपर्ने उल्लेख छ।

Facebook Comments Box