नेपालद्वारा श्रीलङ्कामा आएको बाढीजन्य क्षतिप्रति दुःख प्रकट

काठमाडौँ, १५ मङ्सिर – नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण मानवीय क्षति तथा देशभर पुगेको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा श्रीलङ्का सरकार तथा त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्दै नेपाल कठिन घडीमा श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख छ।

नेपाल सरकारले विपद्का क्रममा ज्यान गुमाउनेका परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। एक्यबद्धता प्रकट गर्दै नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकी डलर २ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

यस दुःखद् अवस्थामा श्रीलङ्का जनताको साहस, धैर्य र दृढतापूर्वक पुनःउठ्ने क्षमतालाई नेपाल सरकार तथा नेपाली जनताले सम्मान गरेको तथा त्यसमा पूर्ण विश्वास रहेको पनि मन्त्रालयले जनाएको छ।

Facebook Comments Box