कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक

काठमाडौं, १४ मंसिर – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ पहुँच नजिक पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीलाई पाँच विकेटले हराएपछि काठमाडौँ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। कर्णालीको आठ अंक रहँदा शीर्षस्थानमा सुदूरपश्चिम रोयल्स १० अंकसहित अग्रस्थानमा छ।

यो हारसँगै कर्णालीको ‘प्लेअफ’ यात्रा झनै जटिल बनेको छ। उसले लगातार तेस्रो तथा प्रतियोगिताको पाँच खेलमा चौथो हार बेहोरेको छ। कर्णालीले अहिलेसम्म एक मात्र खेल जितेर दुई अंक बटुलेको छ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। चौथो विकेटका लागि जेरहार्ड इरसमस र जोन सिमसनले ८६ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए।

जोन सिमसनले २१ बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाए भने नन्दन यादवको बलमा क्याच आउट भए। जेरहार्ड इरसमस ३३ बलमा २ चौका र २ छक्काको मद्दतले ४३ रनमा अविजित रहे। भीम सार्की ६ रनमा नटआउट रहे।

कर्णालीका नन्दन यादवले तीन विकेट लिए भने पवन सर्राफले एक विकेट हात पारे।

यसअघिको इनिङ्समा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा १४९ रन बनायो। गुल्सन झा २२ बलमा ६ चौका र ३ छक्कासहित ४९ रनमा अविजित रहे।

पवन सर्राफले २९ बलमा ३५ रन बनाए भने मार्क वाट ३० रन बनाउँदै रन आउट भए। प्रियांक पञ्चाल डक आउट भए।

विलियम बसिस्टो एक रन, नजिबुल्लाह जड्रान १२ रन, कप्तान सोमपाल कामी ६ रन र दीपक डुम्रे १० रनमा आउट भए।

काठमाडौँका लागि रसिद खानले दुई विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट हात पारे।

अब काठमाडौले लिग चरणको अन्तिम खेल बिहीबार पोखरा एभेन्जर्ससँग खेल्नेछ। कर्णालीले भने पोखरा (बिहीबार) र जनकपुर बोल्ट्स (आइतबार) विरुद्ध अन्तिम दुई खेल खेल्नेछ। ‘प्लेअफ’ पुग्न कर्णालीले दुवै खेल जित्नुका साथै अन्य खेलका नतिजा पनि आफ्नो पक्षमा पर्नु आवश्यक हुनेछ।

Facebook Comments Box