श्रीलंकामा ‘दितवा’ तूफानको प्रकोप: १३२ को मृत्यु, १७६ जना बेपत्ता, आपतकाल घोषणा
काठमाडौँ, १४ मङ्सिर – ‘दितवा’ नामको शक्तिशाली तूफानका कारण श्रीलंकामा आएको भीषण वर्षा र त्यसपछिल्लो बाढी–पहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना अझै बेपत्ता रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ। गम्भीर प्राकृतिक विपत्तिपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोगको अपिल गरेका छन्।
सरकारले विदेशमा रहेका श्रीलंकालीलाई पनि स्वदेशमा आर्थिक सहयोग पठाउन आग्रह गरेको छ। यो पछिल्ला आठ वर्षयताकै सबैभन्दा ठूलो प्राकृतिक प्रकोप भएको बताइएको छ। यसअघि २०१७ मा आएको बाढी–पहिरोमा २०० जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएका थिए।
विपद् व्यवस्थापन विभागका अनुसार हालसम्म १५ हजारभन्दा बढी घर ध्वस्त भइसकेका छन्। करिब ७८ हजार प्रभावित नागरिकलाई अस्थायी शिविरमा राखिएको छ। राहत र उद्धारका लागि सेना, वायुसेना र नौसेनालाई परिचालन गरिएको छ।
मध्य श्रीलंकाको बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएका कारण धेरै ठाउँमा राहत पुर्याउन कठिनाइ भएको छ। सबैभन्दा प्रभावित क्षेत्रमा परेका मास्पान्ना गाउँका बासिन्दाहरूले खाना र पिउने पानीको समेत अभाव भएको बताएका छन्। प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोस्थित विभिन्न विदेशी राजदूतहरूसँग भेट्दै देशको गम्भीर अवस्थाबारे जानकारी गराइरहेका छन्।
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प छ। धेरै पानी शुद्धीकरण केन्द्रहरू बाढीले प्रभावित भएकाले खानेपानी प्रवाह रोकिएको छ। कतिपय क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध बनेको छ। कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डी क्षेत्रमा पनि पहिरोका कारण सडक भत्किँदा धेरै स्थानमा पुग्न सकेको छैन।
विपत्तिपछि भारतले सबैभन्दा पहिले राहत सामग्री पठाएको छ। दुईवटा विमानमार्फत राहत सामग्री कोलम्बो पुगेका छन् भने कोलम्बोमा नै रहेको भारतीय नौसेना जहाजले प्रभावित क्षेत्रमा खाद्यान्न वितरण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थप सहयोगको आश्वासन दिएका छन्।
यसबीच ‘दितवा’ तूफान श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको छ। सतर्कताका लागि चेन्नई विमानस्थलमा ५४ उडान रद्द गरिएको छ। भारत मौसम विभागले आगामी ४८ घण्टामा भीषण वर्षा र कडा हावाहुरीको चेतावनी दिएको छ।

