तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागको आग्रह
काठमाडौँ, ९ असार – काठमाडौँ उपत्यकाका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको बाटो प्रयोग गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण विष्णुमती, बाग्मती र धोवीखोलाको जलसतह सतर्कता तहमा पुगेको छ र अझै बढ्दो क्रममा रहेको छ। विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रको जलसतहले सतर्कता तह पार गरिसकेको जानकारी दिइएको छ।
यसै क्रममा गोरखा जिल्लामा पनि भारी वर्षा मापन भएकाले त्यहाँका नागरिकलाई समेत सतर्क रहन विभागले अनुरोध गरेको छ। मध्यरातपछिको वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न बनेका छन्, जसका कारण सवारी आवागमनमा समेत अवरोध पुगेको छ।
विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दा, यात्रु र सम्बन्धित निकायलाई आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।

