उपराष्ट्रपति यादव युएईको ५४औँ राष्ट्रिय दिवसको स्वागत समारोहमा सहभागी
काठमाडौँ, १४ मङ्सिर – उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसको अवसरमा शनिबार साँझ काठमाडौँमा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुनुभयो। नेपालका लागि युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीद्वारा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी, उद्योगी–व्यवसायी, युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो।
समारोहमा बोल्दै राजदूत अल शाम्सीले नेपाल–युएई सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको अभियानमा दुवै मुलुक समान धारणा र सहकार्यमा रहेको उल्लेख गर्नुभयो।
२०७२ को भूकम्प, कोभिड–१९ महामारी तथा बाढी–पहिरोजस्ता विपद्को बेला युएईले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै राजदूतले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै गएको टिप्पणी गर्नुभयो। युएईमा रहेका नेपालीहरूले दुई देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै उहाँले नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण तथा मानव संसाधन विकासजस्ता क्षेत्रमा युएईले नेपाललाई सहयोग गरिरहेको जानकारी दिनुभयो।

