एउटै गोठमा ५७ वैदिक गाईको संरक्षण
बागलुङ, १२ मङ्सिर – बागलुङको मालिका क्षेत्रमा ५७ वटा वैदिक गाई एउटै स्थानमा संरक्षण गरिएको छ। हिन्दू धर्ममा पूजनीय मानिने स्थानीय प्रजातिका गाईहरूकाे संरक्षणकाे उद्देश्यले सञ्चालन गरिएको यो केन्द्र “गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र” नामले दर्ता छ।
विसं २०७२ मा मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य “मुक्तिनाथ बाबा” को परिकल्पनामा केन्द्र स्थापना गरिएको थियो। त्यस वर्ष नै पर्वतको जलजला–७ धाइरिङस्थित गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमार्फत ल्याएर संरक्षण अभियान सुरु गरिएको हो। अहिले केन्द्रमा एक वटा साँढेसहित कुल ५७ गाई छन्।
८२ रोपनी निःशुल्क जग्गामा करिब आठ लाख रुपैयाँ लागतमा संरचना निर्माण गरिएको छ। स्थानीय प्रजातिका गाईको संरक्षणसँगै गाईको गोवर प्रशोधन गरी आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारी भइरहेको केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार यहाँका गाईलाई दिनमा एकपटक मात्र, त्यो पनि बाच्छाहरू अघाएपछि दुहुने गरिन्छ। बाच्छाबाच्छीलाई दाम्लोमा नबाँधेर चौबिसै घण्टा खुला छोडिन्छ।
दूध कम मात्रामा उत्पादन हुने भएकाले त्यसबाट तयार हुने घ्यू पूजापाठमा प्रयोग हुन्छ। स्थानीय प्रजातिका गाई घट्दै गएपछि संरक्षण केन्द्र धार्मिक पर्यटकका लागि पनि आकर्षण बन्दै गएको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताए। तिहारकाे गाईपूजामा संरक्षण केन्द्रमा भीड लागेको र केवल भेटीमै डेढ लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले बताए। अन्य समयमा पनि पाठपूजा, वैतरणी तथा गाईको गोवर लिन आउनेको संख्या बढ्दो छ।
यहाँका गाईलाई कृत्रिम गर्भाधान गराइँदैन। निकट भविष्यमा गोबरबाट धुप उत्पादन गर्ने योजनासमेत छ। केन्द्रको सञ्चालन तथा पाँच जना गौसेवकको पारिश्रमिक पञ्चकोट विकास परिषद्ले बेहोर्दै आएको छ। गाईकाे दानापानी र पराल स्थानीय बासिन्दाले बागलुङ, काठेखोला, जैमिनी र पर्वत क्षेत्रबाट निःशुल्क उपलब्ध गराउँदै आएका छन्।

