एनपीएलः लगातार चौथो जितसँगै सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक

काठमाडौँ, ११ मङ्सिर — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले आज लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गर्दै प्लेअफ स्थान नजिक पुगेको छ। साविक उपविजेता सुदूरपश्चिमको यो लगातार चौथो जित हो।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाउँदै सहजै पूरा गर्यो। ओपनर विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए भने आरिफ शेखले ३७ रन जाेडे।

३९ रनको स्कोरमा दुई विकेट गुमाइसकेको सुदूरपश्चिमलाई विनोद र शेखले ९९ रनको महत्वपूर्ण साझेदारीमा जिततर्फ अग्रसर गराएका थिए। उत्कृष्ट पारीका लागि विनोद ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको लुम्बिनी लायन्स १९.४ ओभरमा १४३ रनमा अलआउट भएको थियो। कप्तान रोहित पौडेलले ३५ रन र दिलिप नाथले ३१ रन जोडे। बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहरा र हर्मित सिंहले तीन–तीन विकेट लिए भने हेमन्त धामीले दुई विकेट हात पारे।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चार खेलबाट आठ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। रोहित पौडेल नेतृत्व गरेको लुम्बिनीले भने चारमध्ये केवल एक खेल जित्दै दुई अंकका साथ छैटौँ स्थानमा छ। प्लेअफमा प्रवेश गर्न बाँकी रहेका तीनै खेल जित्नैपर्ने दबाब लुम्बिनीमाथि बढेको छ।

Facebook Comments Box