व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्ने महतो

सर्लाही, ११ मङ्सिर – सर्लाहीको लालबन्दीसहित चुरे क्षेत्र देशकै प्रमुख तरकारी उत्पादन क्षेत्रका रूपमा स्थापित छ। यहाँ उत्पादित तरकारी काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत सहरमा दैनिक रूपमा पुग्ने भएकाले व्यावसायिक किसानको संख्या पनि बढ्दो छ।

लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर र बरहथवा क्षेत्रका किसानहरू आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परवरलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन गर्दै आएका छन्। यसको प्रत्यक्ष लाभ किसानहरूको आयमा पर्न थालेको छ।

लालबन्दी नगरपालिका–१०, हिरापुरका किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट स्थिर आम्दानी आर्जन गरिरहेका छन्। ३५ वर्षीय महतो २० वर्षको उमेरदेखि नै तरकारीखेतीमा सक्रिय छन्। बुबा–हजुरबुबाबाट खेती सिकेका उनले पछि ‘जेटिए’ तालिम लिएपछि आधुनिक तरिका अपनाएका हुन्। बेमौसमी तरकारीले मौसमी भन्दा धेरै गुणा आम्दानी दिने अनुभव महतोको छ।

हाल उनले चार बिगाहा जग्गामा तरकारी खेती गरिरहेका छन्। त्यसमा २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी खेती हुँदैछ। यसैसँगै १४ कट्ठा खेतमा कविता जातको टमाटर लगाउने उद्देश्यले बेर्ना उत्पादन भइरहेको उनले बताए।

महतोले मेहनतको आम्दानीले दुई वर्षअघि पाँच कट्ठा खेत थप खरीद गरेका छन्। “तरकारीखेती नै मेरो मुख्य आम्दानीको स्रोत हो,” उनको भनाइ छ, “अफ सिजनमा सिमी मात्रै बेचे पनि दुई–तीन हप्तामा ६०–७० हजार आयो। कहिलेकाहीँ महिनामा दुई लाखसम्म पनि कमाइ हुन्छ।”

बेमौसमी र मौसमी दुवै तरकारीबाट वार्षिक खर्च कटाएर करिब १० लाख रुपैयाँसम्म बचत हुने उनको अनुभव छ। खेतीमा श्रीमतीको राम्रो सहकार्य रहेको उनले बताए। मौसम र भाउ परिवर्तनले आम्दानी उतार–चढाव हुने गरे पनि यिनै कमाइले परिवार, शिक्षा र घरखर्च सहज चलिरहेको उनले सुनाए।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले करिब ३,८४३ हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गरिरहेका छन्। यहाँका तरकारीहरू लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमार्फत देशका ठूला सहरमा पठाइने गरेका छन्।

Facebook Comments Box