हङकङको ताइपो आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुग्यो
काठमाडौँ, ११ मङ्सिर – हङकङको ताइपो क्षेत्रमा भएकाे भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। स्थानीय मिडियाका अनुसार घटनामा ४५ जना गम्भीर रूपमा घाइते भएका छन् भने २७९ जना अझै बेपत्ता छन्।घाइतेमध्ये २९ जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
भवन मर्मतको जिम्मा लिएका ठेकेदार कम्पनीका दुई निर्देशक र एक सल्लाहकारलाई निर्माणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ। उनीहरूले स्काफोल्डिङमा बाँसजन्य सामग्री र झ्यालहरूमा स्टाइरोफोम प्रयोग गरेको आरोप छ, जसले आगो फैलिने गति तीव्र भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आगलागी भएका भवनहरूमा ठूलो सङ्ख्यामा बासिन्दा भएकाले, बिहीबार बिहान ३ बजेसम्ममा नौ सयभन्दा बढीलाई सामुदायिक हलहरूमा सुरक्षित स्थानमा सारिएको छ। जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लक मर्मतमा थिए । स्टाइरोफोम प्रयोग भएको पुष्टि भएपछि अधिकारीहरूले आगो फैलिनुमा यसले भूमिका खेलेको बताएका छन्। यद्यपि, आगलागीको ठोस कारण पत्ता लगाउन थप अनुसन्धान हुनेछ।
सात भवनमध्ये तीनमा उल्लेखनीय क्षति पुगेको छ। बुधबार दिउँसो सुरु भएको आगो झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको थियो। घटनापछि हङकङका प्रमुख कार्यकारी जोन लीले पत्रकार सम्मेलन गर्दै यो आगलागीलाई “ठूलो विपत्ति” भनेका छन्। सहरमा डिसेम्बर ७ का लागि तय गरिएको संसद् चुनावसम्बन्धी गतिविधि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ।
यसअघि राष्ट्रपति सी जिनपिङले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए र हताहती तथा क्षति न्यूनीकरण गर्न निर्देशन दिएका थिए। आगलागी बुधबार दिउँसो २:५१ बजे सुरु भएको र केही मिनेटमै स्टेटका आठ ब्लकमध्ये सातमा फैलिएको थियो। सुरुमा ‘नम्बर १ अलार्म फायर’ का रूपमा वर्गीकृत आगो क्रमशः ३:३४ बजे ‘नम्बर ४’ र ६:२२ बजे ‘शीर्ष तह ५’ मा अपग्रेड गरिएको थियो। हङकङमा आगलागीको गम्भीरता एकदेखि पाँच तहमा वर्गीकृत गरिन्छ।

