आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौं, ३ असार – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। त्यसैगरी मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन रहने सम्भावना छ।आज राति देशका हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box