सप्तरीमा अवैध रूपमा लुकाइ राखिएको १३४ बोरा डिएपी मल नियन्त्रणमा
सप्तरी, ८ मङ्सिर – सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकामा अवैध रूपमा लुकाइ राखिएको ठूलो परिमाणको रासायनिक मल (डिएपी) बरामद गरेको छ। नगरपालिका–९ इनर्वा चौकस्थित एक पुरानो राइसमिलको गोदाममा लुकाएर राखिएको ५० किलो तौलका १३४ बोरा डिएपी मल प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले स्थानीय धर्मेन्द्र जैनको पुरानो राइसमिल प्रयोग गरिएको गोदामबाट मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।
डिएसपी पुरीका अनुसार ४५ वर्षीय धर्मेन्द्र दासले गोदाम भाडामा लिएर अवैध रूपमा मल भण्डारण गरेको आशंका छ। बरामद गरिएको सबै मल जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

