एनपिएल : आज दुई रोमाञ्चक खेल हुँदै
काठमाडौँ, ८ मङ्सिर – यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई महत्वपूर्ण खेल तय भएका छन्। पहिलो खेल बिहान ११:४५ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। दोस्रो खेल अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स दुबै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन्। पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित जनकपुरका कप्तान अनिल साहका लागि आजको खेलमा लय समात्दै प्रतियोगितामा पुनरागमन गर्ने चुनौती छ।
यसैबीच कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर लगातार तेस्रो जितको खोजीमा छ। विराटनगरले यसअघि पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज दुवैलाई पराजित गरिसकेको छ। गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको स्मरण गर्दै, आज विराटनगर बदला लिन तत्पर देखिन्छ।
दोस्रो खेलमा कप्तान दिपेन्द्र सिंह ऐरीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली भिड्ने छन्। गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेर पनि फाइनलमा रोकिएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने दाउमा छ। यसपटक कर्णालीले निराशाजनक सुरुवात गरे पनि शनिबार लुम्बिनी लायन्समाथि ९ विकेटको प्रभावशाली जीत दर्ता गर्दै पुनरागमन गरिसकेको छ। उक्त खेलमा मार्क वाटले शतकीय इन्निङ्स खेलेका थिए।
गत संस्करणमा रनरेटको आधारमा प्लेअफ पुगेको कर्णाली यसपटक सहज यात्राको लक्ष्यसहित मैदान उत्रनेछ। अघिल्लोपटक सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले हराएको थियो, त्यसैले कर्णाली आज पुनरावृत्ति हुन नदिने पक्षमा छ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ देखि सुरु भएको प्रतियोगिता मङ्सिर २७ मा सम्पन्न हुनेछ।

