निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल
चरिकोट, ८ मङ्सिर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन्। आइतबार कालिञ्चोक–८, सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण बनेको बताए।
उनीभन्छन्, “सरकारको मुख्य लक्ष्य निर्वाचन हो। सरकार तयार छ, सबै राजनीतिक दलले पनि सहभागिता जनाउँछन्। निर्वाचनको वातावरण निर्माण भइसकेको सन्देश देशभर पुर्याउन जरुरी छ।” मन्त्री खरेलले सुशासनमा सम्झौता नगर्ने र छ महिनाभित्र कामको प्रत्यक्ष अनुभूति हुने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले आन्दोलनका घाइते र मृतकको योगदान खेर जान नदिने स्पष्ट पार्दै उनले आन्दोलनविरुद्धका गतिविधि स्वीकार्य नहुने बताए। उनका अनुसार वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ।
राजनीतिक अस्थिरता र दलहरूको सत्ता–प्रतिस्पर्धाले शिक्षा क्षेत्रदेखि समग्र विकासमा असर परेकाले अब विकास, स्थिरता र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्न सबै दल जिम्मेवार बन्नुपर्ने उनले बताए। दोलखा पुगेका सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेललाई कालिनाग माध्यमिक विद्यालयले भव्य सम्मानसहित अभिनन्दन गरेको छ। सुनखानी पुगेपछि स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए।
जिल्ला प्रवेशपछि उनले आफ्नै जन्मथलोमा रहेको कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गरे। स्थानीयस्तरमा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै उनले प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे र जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता दोहोर्याए।
मन्त्री खरेलले कालिञ्चोक गाउँपालिका कार्यालय निरीक्षण गरेका थिए। त्यसपछि गाउँपालिका–७ मा आयोजित कार्यक्रममा सहभागी भएपछि उनी आफ्नो जन्मघर पुगेका थिए। सो क्रममा उनले १०२ वर्षका ज्येष्ठ नागरिकबाट आशिर्वाद पनि लिए।

