छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ, ८ मङ्सिर – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएका छन्। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा आइतबार दिउँसो बसबाट खसेका भक्तपुर नगरपालिका–१० का ४१ वर्षीय सहचालक सुरेन्द्र थप उपचारका क्रममा वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, मोरङको बुढीगङ्गा गाउँपालिका–५ मा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीका १९ वर्षीय सुरज नुनियाको विराट टीचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर दुर्घटना हुँदा त्यसमै सवार ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थ्रेसर चालक प्रहरी नियन्त्रणमा छन्। तीनै घटनाबारे प्रहरीद्वारा आवश्यक अनुसन्धान जारी छ

