झापा आएका १५ हात्ती मोरङतिर फर्किए

झापा, २ मङ्सिर – झापामा आइपुगेको जङ्गली हात्तीको ठूलो बथानको केही हिस्सा मोरङतिर फर्किएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। मोरङबाट आइतबार पूर्वतर्फ लागेका अधिकतम ३० हात्तीमध्ये १५ वटा सोमबार पुनः मोरङतिर परतिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए।

उनका अनुसार हात्तीहरूको बथान शिवसताक्षी नगरपालिका नजिकैको रतुवामाई वृक्षरोपण जङ्गलमा पुगेपछि छिन्नभिन्न भएको थियो। “केही हात्ती मोरङतिर फर्किए, बाँकी झापाका रतुवामाई तथा दमकस्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा अलमलिइरहेका छन्,” श्रेष्ठले भने। कार्यालयका टोलीहरूले निरन्तर निगरानी गरिरहेको उनले बताए।

हात्तीहरूको यो बथान मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबारै झापा प्रवेश गरेको थियो। स्थानीय अनुमानअनुसार उनीहरू बाहुनडाँगी हुँदै भारतको पश्चिम बंगाल फर्किन सक्थे। दिनभरि बथान जङ्गलमै विश्राम गर्ने र रात परेपछि मात्र यात्रा अगाडि बढाउने गरेको बताइएको छ। तर सोमबार दिनभरि ती हात्ती झापाकै जंगलमा बसेका थिए।

दुई वर्षअघि पनि ५०–६० हात्तीको ठूलो बथान प्रसाद गौडा हुँदै झापा प्रवेश गरेको थियो। त्यसबेलासमेत करिब ३० हात्ती डेढ महिना नेपालका वन क्षेत्रमा बसेर मात्र भारत फर्किएका थिए, जबकि केही हात्ती मोरङ–सुनसरी क्षेत्रमा स्थिर भएका थिए। हात्ती आइरहेका समाचारपछि डिभिजन वन कार्यालय तथा स्थानीय पालिकाले जनधनको सुरक्षा सुनिश्चित गर्न सतर्कता बढाएका छन्। गस्ती टोली परिचालन र सर्वसाधारणलाई सावधानीका लागि माइकिङसमेत गरिएको छ।

भारतको आसामदेखि कोशी टप्पुसम्म हात्तीहरूको नियमित ओहोरदोहोर हुने गरेको छ। गर्भिणी हात्तीहरू नेपालमा आएर सुरक्षित रूपमा बच्चा हुर्काएपछि मात्र भारत फर्किने गरेको वन कार्यालयले जनाएको छ। अहिले पनि बथानमा धेरै छावा भएकाले भारत फर्कुन्जेल स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रमुख श्रेष्ठले आग्रह गरेका छन्।

Facebook Comments Box