दुर्गा प्रसाईं पक्राउ विरोधमा नागरिक बचाउ दलले आन्दोलन घोषणा

काठमाडौँ, २ मङ्सिर – प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि नागरिक बचाउ दलले आजैबाट देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। मंसिर ७ गते प्रदर्शन गर्ने पूर्वसूचना दिइए पनि पार्टीले पक्राउको विरोधमा ढिला नगरी तत्काल आन्दोलनमा उत्रिने बताएको हो।

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले  भने, “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ। त्यसैले मंसिर ७ गते पर्खनुको साटो आजैबाट हामी आन्दोलनमा उत्रिने निर्णय गरेका छौं।”

सोमबार राति जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। प्रसाईं यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका थिए र अदालतको आदेशमा रिहा भएका थिए।

प्रसाईंले राजावादी गतिविधिमा संलग्न रहेको आरोप र बैंकबाट लिएको ऋण मिनाहा गरिनुपर्ने लगायतका माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारी गरिरहेका थिए। तर, हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

महामन्त्री थाम्सुहाङले भने, “आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने योजना बनाएका छौं। हाम्रो दलले शान्तिपूर्ण गतिविधि गर्दै आएको थियो, तर सरकारले नै शान्ति भंग गर्यो।” उहाँले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइ गर्न माग गर्दै चेतावनी दिएका छन्, “अन्यथा यो सरकारको अन्त्य हामी सडकबाटै गर्नेछौं।”

Facebook Comments Box