दोस्रो आर्थिक गणना आजदेखि सुरु

काठमाडौं, २ वैशाख – देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्। निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलन आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यस कार्यका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थ मन्त्रालय ले औद्योगिक तथा समग्र आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने भएकाले सहयोगका लागि सबैसँग आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिनेछ।

यसक्रममा दर्ता भएका वा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने वा स्वरोजगारमा आधारित प्रतिष्ठान, उद्योग–कलकारखाना, गैरसरकारी सङ्घसंस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालसमेतको विवरण सङ्कलन गरिनेछ।

गणनाको तयारीअन्तर्गत प्रारम्भिक काम गत फागुन मसान्तमै सम्पन्न भइसकेको छ। चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको थियो, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। यसअघि विसं २०७५ मा गरिएको आर्थिक गणनाअनुसार देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।

Facebook Comments Box