कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथम, नेपाली प्रथम’ अवधारणा

काठमाडौँ,  १ वैशाख – सरकारले कूटनीतिको मूल आधारका रूपमा ‘नेपाल प्रथम, नेपाली प्रथम’ अवधारणालाई आत्मसात गर्ने भएको छ।प्रतिनिधि सभा निर्वाचनमा सहभागी ६ दलका घोषणापत्रका आधारमा तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा उक्त अवधारणा समावेश गरिएको हो।

मस्यौदामा कुनै पनि सैन्य गठबन्धन, हातहतियारको प्रतिस्पर्धा तथा युद्धले शान्तिमा बाधा पुर्‍याउने मान्यतासहित सबै मुलुकसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गरिने उल्लेख छ।

“सम्पूर्ण कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथम, नेपाली प्रथम’ अवधारणा आत्मसात गरिनेछ,” मस्यौदामा भनिएको छ। यससँगै आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै सगरमाथा संवाद जस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना पनि अघि सारिएको छ।

सरकारले नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’का रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीमार्फत राष्ट्रिय हित सुनिश्चित गरिने जनाएको छ।

मस्यौदामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै देशलाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ।

Facebook Comments Box