खड्कामाथि कारबाहीको तयारीमा कांग्रेस

काठमाडौँ, २ वैशाख – नेपाली कांग्रेस ले पार्टीको समानान्तर गतिविधिमा संलग्न रहेको आरोपमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि पार्टी नेतृत्व कडा कदम चाल्ने तयारीमा पुगेको हो।

आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ भने त्यसअघि बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउविरुद्ध खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेका थिए। त्यसपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो।

गत चैत १८ गते बसेको अनुशासन समितिको बैठकले नाम नखुलाई अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेस को विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही अगाडि बढाउने निर्णय गरेको थियो। अनुशासन समितिका संयोजक तारामान गुरुङ ले पार्टी अनुशासन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पारे। उनले भने, “पार्टीमा सबै अनुशासनमा बस्नुपर्छ, नियमविपरीत काम गरे कारबाही हुन्छ।”

यसैबीच सभापति गगनकुमार थापा ले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन्। मंगलबारदेखि सुरु ‘जरा अभियान’का क्रममा उनले पार्टीभित्र अनधिकृत गतिविधि सहन नसकिने चेतावनी दिएका छन्। उता खड्काले भने निर्वाचन आयोगको निर्णयमा आफ्नो समर्थन नभएकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिका रूपमा आफू अझै कायम रहेको दाबी गरेका छन्।

Facebook Comments Box