दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ, २ मङ्सिर – दरमखोला हाइड्रोपावरले आइतबारदेखि औपचारिक रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ देखि निर्माण सुरु गरिएको यो आयोजना लामो प्रतीक्षा र विभिन्न अवरोधपछि सञ्चालनमा आएको हो। दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालन भइरहेको सो हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।

विसं २०६५ मै निर्माणको अवधारणा बने पनि काम भने २०७७ बाट मात्र सुरु भएको हो। हाइड्रोपावरको कुल उत्पादन क्षमता ९.६ मेगावाट रहेको छ। सुरुआतमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने योजना बनाइएको थियो तर पछि जिम्मा दरमखोला हाइड्रो इनर्जी प्रालिले लिएको हो। गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी करिब साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरिएको इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए।

उनका अनुसार बर्खामा ९.६ मेगावाटसम्म उत्पादन गर्न सकिने भए पनि हिउँदमा पानीको बहाव घट्ने भएकाले करिब ६.६ मेगावाट मात्र उत्पादन भइरहेको छ। “हरिचौरस्थित सवस्टेशनसँग प्रसारण लाइन जडान भइसकेको छ। प्रसारण लाइनमा एक महिना अघि नै जोडिए पनि व्यावसायिक उत्पादन अहिले आएर नियमित भएको हो,” इञ्जिनियर चौधरीले बताए।

हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले पाएका थिए। विभिन्न प्राविधिक तथा भौगोलिक अवरोधका कारण काममा ढिलाइ भएको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। सुरुआतमा इजाजत पाएको गोर्खा हाइड्रोपावर कम्पनीले काम नगरेपछि आफूहरूले नयाँ कम्पनी दर्ता गरी निर्माण अघि बढाएको उनको भनाइ छ।

आयोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाइएको छ। विद्युत् उत्पादन सुरु भएपछि बागलुङका दुर्गम गाउँ–बस्तीमा विद्युत् आपूर्ति सुधारिने अपेक्षा गरिएको अध्यक्ष पुनले बताए। “दरमखोला हाइड्रोपावर बागलुङमा निर्माण भएको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो,” पुनले भने, “सर्भे धेरै वर्षअघि भए पनि विभिन्न कारणले ढिलो काम सुरु भयो। पूर्व इजाजत रद्द भएपछि नयाँ कम्पनीमार्फत निर्माण अघि बढायौँ र अब सफलतापूर्वक उत्पादन सुरु भएको छ।”

Facebook Comments Box