नेपाली महिला क्रिकेट टोली मलेसियासँग ३ रनले पराजित

काठमाडौं, १६ असोज – नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ३ रनले पराजित भएको छ ।

वायुमास ओभलमा शुक्रबार भएको खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १०१ रनमै सीमित रह्यो । अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक पर्न गएको थियो तर कविता जोशी र राजमती ऐरीले मात्र ३ रन जोड्न सक्दा नेपाल पराजित हुन पुग्यो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन योगदान दिइन् । त्यस्तै सम्झना खड्काले १८, कप्तान इन्दु बर्माले १२ तथा कविता जोशीले अविजित १३ रन बनाए ।

मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन जोडेको थियो ।

कप्तान विनिफ्रेडले २७, अइना हमिजाले २६ र मास एलिसाले २५ रन बनाए । नेपालका लागि सोमु विष्टले २ विकेट लिए भने रुबिना क्षेत्रीले १ विकेट हात पारिन् । नेपाल र मलेसियाबीचको शृंखलाको दोस्रो खेल शनिबार खेलिने  छ ।

Facebook Comments Box