मौलाकाली केबलकार पुनःसञ्चालनमा

नवलपरासी, २ मङ्सिर – गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण बन्द भएको मौलाकाली केबलकार दुई महिनापछि पुनःसञ्चालनमा आएको छ। क्षति पुगेपछि रोकिएको सेवा आइतबार साँझ गरिएको परीक्षण सफल भएपछि पुनः सञ्चालनको तयारी गरिएको हो।

मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार प्रारम्भिक प्राविधिक परीक्षण सफल भइसकेकाले अब थप केही दिन परीक्षण गरी कुनै समस्या नआएपछि केबलकार सर्वसाधारणका लागि खोलिनेछ। गैँडाकोट–१ स्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्ष वैशाखदेखि सञ्चालनमा आएको केबलकार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बन्द गरिएको थियो।

पौडेलका अनुसार आगजनीका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेकाले अष्ट्रियाका प्राविधिक टोलीले एक सातासम्म विस्तृत परीक्षण गरेका थिए। परीक्षणपछि कमजोर उपकरण पहिचान गरी आवश्यक मर्मतसम्भार गरिएको र हाल सबै प्रणाली स्थिर रूपमा चलिरहेको पुष्टि भएको उनले बताए।

“मर्मतपछि सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित छ,” पौडेलले भने, “अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि केबलकार पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ।” उनका अनुसार मन्दिर जाने भक्तजन र माथिल्लो स्टेसनमा रहेको होटलमा आएका पर्यटक ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था बनेपछि केबलकार नियमित रूपमा चलाइनेछ।

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका कारण केबलकारमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए। केबलकार बन्द हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको सङ्ख्या पनि घटेको जनाइएको छ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार केबलकार सञ्चालनमा हुँदा मन्दिरमा उल्लेख्य भीड हुने गर्थ्यो। तर यो वर्ष दसैँको समयमा केबलकार बन्द भएकाले अपेक्षित मात्रामा भक्तजन नआएको उनले बताए। अब पुनःसञ्चालनपछि भक्तजनको चहलपहल बढ्ने विश्वास व्यक्त गरिएको छ।

सापकोटाका अनुसार पछिल्लो समय धार्मिक यात्रुसँगै प्रकृतिको सुन्दरता अवलोकन गर्न आउने पर्यटक पनि बढिरहेका छन्। हिउँदमा मन्दिरबाट बजार क्षेत्रको कुहिरो, सूर्योदय तथा उत्तरतर्फका पहाड र हिमालको रमणीय दृश्य देखिने भएकाले यो स्थान आकर्षक गन्तव्य बनेको छ। समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट करिब पाँच किलोमिटर उत्तर–पश्चिमतर्फ अवस्थित छ।

Facebook Comments Box