पशुपतिनाथ क्षेत्र तीन दिन मासु–मदिरा निषेध
काठमाडौँ, १ मङ्सिर – स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्र तथा आसपासका क्षेत्रमा मासु, मदिरा र अन्य नशालु पदार्थको उत्पादन, बिक्री–वितरण, ओसार–पसार, भण्डारण र सेवन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
मङ्सिर ३ गते पर्ने बालाचतुर्दशी (शतविजारोपण) पर्व का अवसरमा पवित्रता, सुरक्षा र धार्मिक–सांस्कृतिक मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) अनुसार जारी गरिएको सूचनामा प्रतिबन्धको चार किल्ला तोकिएको छ। सूचनाविपरीत कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने उल्लेख छ।
तोकिएका चार किल्ला (सीमा क्षेत्र)
पूर्वतर्फ: तिलगङ्गा, गुहेश्वरीतर्फको क्षेत्र
पश्चिमतर्फ: गौशाला, मित्रपार्क, चक्रपथ सडक
उत्तरतर्फ: मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक
दक्षिणतर्फ: गौशाला, तिलगङ्गा, चक्रपथ सडक

