गौरादहमा ‘अटो’ दुर्घटना, एक जनाको मृत्यु
झापा, १ मङ्सिर – झापाको गौरादहमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। गौरादह नगरपालिका–१ गैरिया चोक नजिक ‘अटो’ र मिनी ट्रक एक–आपसमा ठोक्किँदा ३७ वर्षीया खुश्बु खातुनको ज्यान गएको हो। कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो, धान लोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडितिर गएर ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक गौरादह–१का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको बताइएको छ। उक्त अटोमै सवार डोमाकी ३७ वर्षीया श्रीमती खुश्बु खातुन गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

