एनपीएल : काठमाडौँ गोर्खाजको विजयी सुरुआत, साविक विजेता जनकपुर बोल्ट्स पराजित

काठमाडौँ, १ मंसिर – साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शानदार विजयी सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

काठमाडौँका लागि वेन चार्ल्सवर्थले २३ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ४६ रनको उत्कृष्ट पारी खेले। जान निकोल लफ्टी–इटोनको बलमा उनी कट एन्ड बोल्ड भए।

भीम सार्की ३ रनमा ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलान्थाले क्याच लिएर पभेलियन फर्के। आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकासहित ३९ रन बनाए पनि सञ्जय कृष्णमूर्तीको बलमा बोल्ड भए।

मिलिन्द कुमार १९ रनमा आउट भए भने जोन सिम्पसन १३ रन बनाएर अनिल साहको बलमा एलबीडब्लु भए। मोहम्मद आदिल आलम ८ रन र जेरहार्ड इरसमस १ रनमा अविजित रहे।

जनकपुरको बलिङतर्फ ललित राजवंशी, जान लफ्टी–इटोन, सञ्जय कृष्णमूर्ती, अनिल साह र किशोर महतोले एक–एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोडेको थियो।

प्रारम्भिक ब्याटर आशिफ शेखले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतक बनाए। उनलाई शाहब आलमले आउट गरे।मयन यादवले २९ बलमा ३४ रनमा अविजित रहे भने रुपेश सिंह ७ रनमा नटआउट रहे।

लाहिरु समरकुन २२ रनमा करण केसीको बलमा आदिल आलमबाट क्याच आउट भए। लाहिरु मिलान्था ७ रनमा, कप्तान अनिल साह शुन्यमै, जान लफ्टी–इटोन २ रनमा तथा सञ्जय कृष्णमूर्ती पनि २ रनमै पभेलियन फर्किए।

काठमाडौँका मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए र ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनले ब्याटिङमा पनि २२ बलमा १९ रन जोडे।

एनपीएल अन्तर्गत मंगलबार दुई खेल हुने छन्। बिहान ११:४५ मा चितवन राइनोज र कर्णाली याक्स भिड्ने छन् भने अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

Facebook Comments Box