धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम
बाँके, २७ कात्तिक – नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम पछिल्ला वर्षमा धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । प्रत्येक वर्ष हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा आयोजना हुने धार्मिक मेलामा नेपालका विभिन्न जिल्ला तथा भारतका स सयौँ साधु–सन्तहरूको उपस्थिति रहने गरेको छ ।
चिसो मौसमको पर्वाह नगरी साधुसन्तहरू हडियाबाबा मन्दिर परिसरको खुला बगैँचामा बसेर दिनरात भजन–कीर्तनमा मग्न हुने गरेका छन् । हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवस का अवसरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने धार्मिक मेलामा ७०० भन्दा बढी साधु–सन्तहरू सहभागी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो ।
“रातको समयमा पनि साधुसन्तहरू आगो ताप्दै भजनकीर्तनमा रमाउँछन्,” अध्यक्ष वैश्यले भन्नुभयो, “मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त र भक्तजनहरूका लागि भण्डारा (समूहिक भोजन) को व्यवस्था गरिएको छ ।” मन्दिर समितिका सदस्य राकेश श्रीवास्तवका अनुसार मेलामा नेपालका बाँके, बर्दिया, दाङ, कैलालीलगायत जिल्लाका साथै भारतका विभिन्न क्षेत्रबाट पनि साधु, सन्त र महात्माहरू आउने गर्छन् ।
मेलामा राति प्रवचन, भक्तिपूर्ण नाटक मञ्चन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । सहभागी सबैका लागि खाना, नास्ता र आवासको व्यवस्था गरिएको छ । मेलाको अन्तिम दिन बुधबार टाढाबाट आएका साधु–सन्तलाई कम्मल र दक्षिणा प्रदान गरेर बिदाइ गरिने परम्परा रहेको अध्यक्ष वैश्यले बताउनुभयो ।
करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको हडियाबाबा आश्रम परिसरमा बाबाको समाधिसहित मन्दिर, गौशाला, उद्यान र अन्य धार्मिक संरचना रहेका छन् । जनश्रुति अनुसार, करिब एक सय वर्षअघि नेपालगञ्ज आएका हडियाबाबा आफ्नी तपस्याको शक्तिबाट भक्तजनको मनोकामना पूरा गर्ने साधुका रूपमा चिनिन्थे । यही कारण अहिले पनि नेपाल र भारतका भक्तजनहरू हरेक वर्ष मेलामा सहभागी हुने गर्छन् ।
मन्दिर परिसरमा रहेको हरियो बगैँचामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथि मेलाको आयोजना गरिन्छ । भक्तजनहरूका अनुसार मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ । मेलामा प्रत्येक साँझ रामलीला धार्मिक नाटक मञ्चन पनि हुने गरेको छ । साँझपख मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न आउने भक्तजनहरूको भीड लाग्ने गरेको स्थानीय अगुवा माधवराम बर्माले बताउनुभयो ।

