बागलुङमा ५३२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बागलुङ, २५ कात्तिक – बागलुङ जिल्लामा पछिल्लो समय डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ। जिल्ला भित्र अहिलेसम्म ५३२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।कार्यालयका अनुसार बरेङ गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकामा सङ्क्रमित भेटिएका छन्।

सबैभन्दा बढी सङ्क्रमण बागलुङ नगरपालिकामा २९५ जनामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा एक जनामा देखिएको सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार दसैँ–तिहारपछि डेङ्गी सङ्क्रमणको दर तीव्र रूपमा बढेको छ। “वर्षायाममा खासै सङ्क्रमण नदेखिए पनि अहिले केस बढ्दै गएको छ,” घिमिरेले भने। “लक्षण देखिएका बिरामीको सबै पालिकामा परीक्षण सुरु गरिएको छ।”

डेङ्गी संक्रमित बिरामीको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा विशेष व्यवस्था मिलाइएको छ। गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले लामखुट्टेको टोकाइबाट जोगिन सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्। उनले खाल्डाखुल्डी, पुराना टायर, ड्रम र भाँडाकुँडामा जम्मा हुने पानी हटाई लामखुट्टेको प्रजननस्थल नष्ट गर्न सुझाव दिएका छन्।

Facebook Comments Box