लोप हुँदै परम्परागत गोरुगाढा
सुनसरी, २५ कात्तिक – सुनसरीका ग्रामीण क्षेत्रमा एक समय किसानको पहिचान मानिने गोरुगाढा (बैलगाडी) अहिले लोप हुने अवस्थामा पुगेको छ। करिब एक दशकअघि इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी र भोक्राहा–हरिनगर क्षेत्रमा प्रायः हरेक घरमा देखिने गोरुगाढा अहिले विरलै मात्र भेटिन्छ।
इनरुवाका किसान जसलाल यादवका अनुसार गोरुगाढा कृषिमा सामान ढुवानी र यातायातका लागि अपरिहार्य साधन थियो। तर, खेतीपातीमा यान्त्रिकीकरण बढेपछि यसको प्रयोग हराउँदै गएको हो। देवानगञ्जका अर्का किसान रामवृक्ष मेहताले पनि अहिले गाउँमा बिहे, जन्ती वा सामान ओसार्न गोरुगाढा प्रयोग हुने क्रम लगभग अन्त्य भएको बताए।
“पहिले गोरुगाढाले खेत जोत्नेदेखि बिरामी र गर्भवतीलाई अस्पताल पुर्याउनेसम्म काम गर्थ्यो,” उनले भने, “अब त्यो परम्परा पुस्तासँगै हराउँदैछ।” स्थानीयहरूका अनुसार हाते ट्याक्टर, ट्याक्टर र अन्य आधुनिक सवारी साधनको विकाससँगै गोरु र काठबाँस प्रयोग गरी बनाइने गोरुगाढा इतिहास बन्ने अवस्थामा पुगेको छ।

