आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, २४ कात्तिक – विसं २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा प्रजातान्त्रिक आन्दोलनका शिल्पी गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपाली राजनीतिमा त्याग, साहस र सिद्धान्तको प्रतीकका रूपमा चिनिनुभएका सिंहले जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरी आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै अद्वितीय राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुभएको थियो।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहको निधन विसं २०५४ असोज २ गते भएको हो। उहाँले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्बाट राजनीतिक यात्राको सुरुवात गर्नुभयो र राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रहनुभयो।
राणा शासनको विरोधका क्रममा जेल जीवन व्यतीत गर्नुभएका सिंह विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभयो र भारत पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गर्नुभयो। विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई सशक्त बनाउन उहाँको भूमिका निर्णायक रह्यो।
विसं २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाबाट सशस्त्र संघर्षमा सहभागी सिंह प्रजातन्त्र स्थापनाका एक प्रमुख अगुवा नेता हुन्। विसं २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारले उहाँलाई वरिष्ठ मन्त्रीको जिम्मेवारी दिएको थियो।
विसं २०१७ सालको राजकीय कूपपछि सिंहले आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजलमा कैद जीवन बिताउनुभयो। त्यसपछि भारत प्रवासमा रहँदै उहाँले पार्टी सुदृढीकरण र राजनीतिक संगठान विस्तारमा लाग्नुभयो। विसं २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर पञ्चायती शासनविरुद्ध सक्रिय हुनुभयो।
विसं २०४६ सालको जनआन्दोलनमा उहाँले विभिन्न राजनीतिक दललाई एकताबद्ध गर्दै आन्दोलनको नेतृत्व गर्नुभयो र त्यस आन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा चिनिनुभयो। उहाँको राजनीतिक जीवनले नेपाली लोकतन्त्रको जग सुदृढ बनाउन उल्लेखनीय योगदान दिएको छ।
विसं २०६१ भदौ २४ गते सुन्दरीजलस्थित बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो। गणेशमान जयन्तीका अवसरमा आज नेपाली कांग्रेसका केन्द्रीय नेतृत्वका साथै भ्रातृ एवं शुभेच्छुक सङ्गठनहरूले देशभर श्रद्धाञ्जलि सभा र विभिन्न कार्यक्रम आयोजना गर्दै नेता सिंहप्रति सम्मान प्रकट गर्दैछन्।

