काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी, यसपटक अझ बढी क्षेत्र खुलाउने सम्भावना

काठमाडौं, १३ असार – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी गरिएको छ। यसअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ। कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

‘त्यसका लागि हामी तीन जिल्लाका सीडीओ भरे वा भोलि बिहानै बैठक बस्दै छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘अरू एक हप्ता थपिन्छ कि?’काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिल्यै पूरै खुला गर्ने अवस्था नरहेको बताए। निषेधाज्ञा लम्ब्याउनुपर्ने नै अवस्था रहेको र कति थप्ने, कसरी थप्ने भन्ने विषय भोलिसम्म टुंगो लाग्ने उनले जानकारी दिए।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा एकसाथ उही स्वरूपमा निषेधाज्ञा लागू गर्ने गरिएको छ। यस विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर टुंगो लगाउने गरेका छन्। कोरोना महामारीको दोस्रो लहर सुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञाको अवधि पटकपटक थपेर यही असार १३ गते (आज) राति १२ बजेसम्म पुर्‍याइएको हो भने प्रतिबन्धहरू क्रमशः खुकुलो बनाउँदै लगिएको छ। यसपटक अझ बढी क्षेत्र खुलाउने सम्भावना देखिएको छ।

Facebook Comments Box