राँझा विमानस्थलको नयाँ टर्मिनल भवन समयअगावै सम्पन्न

बाँके, २४ कात्तिक – नेपालगञ्जस्थित राँझा विमानस्थलमा निर्माणाधीन नयाँ टर्मिनल भवन निर्धारित म्यादभन्दा दुई महिना पहिल्यै सम्पन्न भएको छ। विसं २०७९ पुसमा सुरु गरिएको निर्माण कार्य २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदार कम्पनीले समयअगावै काम पूरा गरेको आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिनुभयो।

थापाका अनुसार निर्माण कार्य सकिएसँगै केही दिनभित्र निर्माण कम्पनीबाट भवन हस्तान्तरण गरिनेछ। त्यसपछि नागरिक उड्डयन प्राधिकरणका विज्ञ टोलीले स्थलगत अनुगमन गरी अनुमोदन गरेपछि करिब १५ दिनभित्र नयाँ भवनबाट सेवा सुरु गरिने तयारी भइरहेको छ।

“विज्ञ टोलीको अनुमतिपछि पुरानो भवनमा रहेका एक्सरे मेसिनलगायतका उपकरण नयाँ भवनमा सार्नेछौँ,” आयोजना प्रमुख थापाले भन्नुभयो, “अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको यो भवन आन्तरिक र बाह्य दुवै उडानका लागि उपयुक्त छ।” भ्याट बाहेक करिब रु २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ लागतमा बनेको भवन सेमी बेसमेन्टसहित तीन तलाको छ।

बेसमेन्ट व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको हो, जसमा २४ वटा पसल रहनेछन्। ५,०७५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको टर्मिनल भवनभित्र यात्रु जाँचका लागि १४ कक्ष, ३ भिआइपी कोठा, बालक खेल क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया), साथै भन्सार र क्वारेन्टाइनका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ।

भविष्यमा अन्तर्राष्ट्रिय उडानका सम्भावनालाई ध्यानमा राख्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग–अलग प्रस्थान र आगमन ढोका तयार गरिएको छ। नयाँ टर्मिनल भवनको क्षमता प्रति घण्टा ६२८ यात्रु रहेको छ। भवन परिसरमा बगैँचा, ५ देखि १४ मिटर फराकिलो बाटो, र वर्षाको पानी निकासका लागि उचित नालाको व्यवस्था गरिएको छ।

त्यसैगरी, विमान पार्किङका लागि एप्रोन क्षेत्र पनि निर्माण गरिएको छ, जहाँ एटिआर–७२ प्रकारका ३ र ट्विनअटर प्रकारका ५ विमान एकैपटक पार्क गर्न सकिनेछ। आधुनिक सुविधा र अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार निर्मित यो नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि राँझा विमानस्थलको सेवा स्तरमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box