एयरफिल्ड लाइटिङ सिस्टम बिग्रँदा त्रिभुवन विमानस्थलमा चार घण्टा उडान बन्द
काठमाडौँ, २३ कात्तिक – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को धावनमार्गमा रहेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएपछि करिब चार घण्टासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा ठप्प रह्यो। शनिबार साँझ करिब ६ बजे समस्या देखिएपछि उडान बन्द भएको थियो भने राति करिब १० बजे मर्मत सम्पन्न गरी उडान पुनः सञ्चालनमा ल्याइएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिनुभयो।
धावनमार्गको बत्ती प्रणालीमा समस्या देखिएपछि नोटिस फर एयरम्यान (NOTAM) जारी गरी सम्पूर्ण उडान स्थगित गरिएको थियो। प्रवक्ता शेर्पाका अनुसार समस्या समाधानपछि मात्रै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो। बेलुका सूर्यास्तसँगै धावनमार्ग अँध्यारो भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय गरी दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए।
काठमाडौँमा जहाज अवतरण गर्न नसक्दा कतार एयरवेजको जहाज दुई घण्टा आकाशमा फन्को मारेर अन्ततः बङ्गलादेशको ढाका डाइभर्ट भयो। त्यस्तै, फ्लाई दुबईको जहाज भारतको लखनउ र कोरियन एयरको जहाज दिल्लीतर्फ डाइभर्ट भएका थिए।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, दिनमा दृश्यीय उडान (VFR) सञ्चालन भए पनि साँझपख उपकरणमा आधारित उडान (IFR) का लागि आवश्यक धावनमार्गका बत्तीमा समस्या आउँदा सम्पूर्ण प्रविधिमूलक उडान रोकिएका थिए।
उहाँले भन्नुभयो, “राति वा न्यून दृश्यताका समयमा सुरक्षित अवतरण र उडानका लागि बत्तीको संयन्त्र अत्यावश्यक हुन्छ। सो प्रणाली बिग्रँदा प्रविधिमा आधारित उडान करिब चार घण्टा प्रभावित भयो।” धावनमार्गमा रहेका बत्ती संयन्त्र प्रणालीमा सेन्टरलाइन, छेउछाउका बत्ती र एप्रोच लाइट पर्छन्, जसले जहाजलाई उडान तथा अवतरणमा दिशा–निर्देशन गर्छ।
किन जहाज सधैं विदेशतर्फ डाइभर्ट हुन्छन् ?
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल — काठमाडौँ, भैरहवा (गौतम बुद्ध) र पोखरा — सञ्चालनमा छन्। तर, काठमाडौँ विमानस्थलमा कुनै समस्या उत्पन्न हुँदा वैकल्पिक रूपमा आफ्नै देशभित्रका यी विमानस्थल प्रयोगमा नआएर जहाज अझै भारत वा अन्य गन्तव्यमा फर्कने बाध्यता कायम छ। शनिबार पनि त्यस्तै भएको थियो — भैरहवा र पोखरा विमानस्थल तयारी अवस्थामा भए पनि उडान त्यहाँ डाइभर्ट नभई भारततर्फ मोडिएका थिए।
नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार विदेशी एयरलाइन्सहरूले नेपालका अन्य विमानस्थललाई वैकल्पिक गन्तव्यका रूपमा सूचीकृत नगरेकाले यस्तो समस्या दोहोरिने गरेको हो। साथै, नेपालमा हवाई इन्धन महँगो हुने र आवश्यक सेवा–सुविधा अझै पूर्ण नहुँदा विदेशी एयरलाइन्सहरू भारतका विमानस्थललाई प्राथमिकता दिने गरेको बताइन्छ।
अधिकारीले भने, “भैरहवा वा पोखरा विमानस्थललाई वैकल्पिक गन्तव्यका रूपमा प्रयोग गर्न विदेशी कम्पनीहरूसँग प्राविधिक र आर्थिक सर्तहरू स्पष्ट गर्न आवश्यक छ। अन्यथा, जहाजहरू भारत वा तेस्रो देशतर्फै डाइभर्ट भइरहने सम्भावना रहन्छ।” प्राधिकरणका अनुसार, विद्यमान नियमअनुसार कुनै पनि हवाई कम्पनीलाई अनिवार्य रूपमा नेपालकै वैकल्पिक विमानस्थल प्रयोग गर्न बाध्य गराउन सकिँदैन।

