नेपाल–भारत सीमानाकामा आवागमन बन्द
रौतहट, २१ कात्तिक – भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्ला प्रशासन कार्यालयले नेपाल–भारत सीमानाकामा आवागमन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित सूचना अनुसार कात्तिक २२ गते (शनिबार) साँझ ६:०० बजेदेखि कात्तिक २५ गते (मङ्गलबार) साँझ ६:०० बजेसम्म आकस्मिक सेवाबाहेक सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका सबै सीमानाका बन्द रहने छन्।
विहारको दोस्रो चरणको विधानसभा निर्वाचन मङ्गलबार, कात्तिक २५ गते (११ नोभेम्बर २०२५) हुने भएकोले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी द्विपक्षीय समन्वय बैठकपछि प्रत्येक निर्वाचनका अघिल्ला ७२ घण्टासम्म सीमा शिल गर्ने परम्परा रहिआएको छ। सोही प्रथाअनुसार यसपटक पनि सीमावर्ती क्षेत्रको आवागमन रोकिएको हो।

