बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा, अब फ्रान्ससँग भिड्ने

काठमाडौं, २७ असार – स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।

बेल्जियमले ४१औँ मिनेटमा चाल्र्स डे केटलेरेको गोलमार्फत खेललाई १–१ को बराबरीमा ल्याएको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै टोलीले दोस्रो हाफमा निर्णायक गोलका लागि संघर्ष गरेका थिए। खेल सकिन दुई मिनेट बाँकी रहँदा मिकेल मेरिनोले गरेको गोल नै स्पेनका लागि विजयी गोल सावित भयो। ८८औँ मिनेटमा आएको उक्त गोलसँगै स्पेनले २–१ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो। अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box