धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
कैलाली, २१ कात्तिक – सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न पाउने आशाले कैलालीका किसानहरू उत्साहित छन् । तर खरिद प्रक्रिया सुस्त भएपछि उनीहरू दिनरात सरकारी खरिद केन्द्र अगाडि लामो लाइनमा उभिन बाध्य भएका छन् । घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनी उपकेन्द्र पुगेका थिए ।
तर पहिलो दिन पालो नपाएपछि उहाँलाई धान बेच्न चार दिन कुर्नुपर्यो । भजनी–४ का किसान राजकुमार चौधरीलाई पनि धान बिक्री गर्न यति नै समय लागेको छ । “धान बेच्नको लागि बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ,” किसान विष्णु चौधरीले दुखेसो पोख्नुभयो ।
यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल रु ३,४६३ तोकेको छ । व्यापारीहरूले कम मूल्य दिने भएकाले किसानहरू सरकारी दरमै बेच्न चाहिरहेका छन् । तर खरिद सुस्त हुँदा किसानहरूको उत्साह निराशामा बदलिएको छ । कतिपयले बिहानदेखि बेलुकीसम्म कुर्दा पनि धान बिक्री गर्न नपाई घर फर्किनु परेको छ ।
भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढाका अनुसार कात्तिक ११ गते सूचना निकालिए पनि मौसमका कारण कात्तिक १६ गतेबाट मात्रै खरिद सुरु गरिएको हो । अहिले प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको छ । उहाँले भन्नुभयो, “पूर्वाधारको अभाव मुख्य समस्या हो । अहिले एक मात्र काटा सञ्चालनमा छ, थप काटा सञ्चालनका लागि नगरपालिकासँग समन्वय भइरहेको छ ।”
धान बिक्रीमा ढिलाइले किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम आवश्यक पर्छ, तर धान बिक्रीमा ढिलाइ हुँदा नगद हातमा नआएर समस्या भएको किसानहरूको गुनासो छ । घोडाघोडीकी रमिता चौधरीले भनिन्, “धान बेचेपछि तिर्छु भनेर सापटी मागेर घर खर्च चलाइरहेकी छु, दुई दिन भयो लाइनमा छु, कहिले पालो आउँछ थाहा छैन ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादन हुने पकेट क्षेत्रका आधारमा देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गरेको छ, जसअन्तर्गत कैलालीबाट नै खरिद सुरु गरिएको हो । जिल्लामा भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर उपकेन्द्रमार्फत धान खरिद भइरहेको कम्पनीका सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै केन्द्रहरूमा किसानको भीड छ ।
कैलालीमा यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । हिजोसम्म ९ हजार क्विन्टलभन्दा बढी धान खरिद भइसकेको छ । “अन्य ठाउँमा मूल्य कम भएकाले सबै किसान सरकारी केन्द्रमै आएका छन्, जसले भीड बढाएको हो,” थापाले बताउनुभयो । जनशक्ति र पूर्वाधारको अभाव पनि प्रमुख चुनौती बनेको छ । चार जना स्थायी कर्मचारीका साथ अन्य जिल्लाबाट ल्याइएका कर्मचारीहरूले काम गरिरहेका छन् ।
थापाका अनुसार यसपटक सरकारले धान खरिदको रकम सिधै किसानको खातामा हाल्ने व्यवस्था गरेको छ, जसका कारण कागजात मिलानमा समय लाग्दैछ । धान खरिद औपचारिक रूपमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म गर्ने प्रावधान भए पनि किसानको चापका कारण बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म धान खरिद भइरहेको छ ।

