निःशुल्क वितरणका औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने महानगरको तयारी

काठमाडौँ, २१ कात्तिक – काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क वितरण गरिने औषधि र औषधिजन्य सामग्री अब सिंहदरबार वैद्यखानाबाट लिने निर्णय गरेको छ । कामपा स्वास्थ्य विभाग र सिंहदरबार वैद्यखाना बीच सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत भएको सम्झौता अनुसार वैद्यखानाले कामपालाई आवश्यक आयुर्वेदिक औषधि लागत मूल्यमै उपलब्ध गराउने भएको हो ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले यस सहकार्यले महानगरका स्वास्थ्य केन्द्रहरूमा आधारभूत आयुर्वेदिक औषधि सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार हाल महानगरका विभिन्न आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूमा नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि उपलब्ध गराउने काम वैद्यखानाबाट नै गरिनेछ ।

वैद्यखानाबाट औषधि उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने तयारीमा सम्झौता अघि बढाइएको उहाँले बताउनुभयो । यसअघि पनि कामपाले यस्तै प्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग गरिसकेको थियो । सम्झौताअनुसार वैद्यखानाले कम्तीमा ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि माग परेको सात दिनभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

उक्त औषधिहरू महानगरका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूबाट सर्वसाधारणलाई निःशुल्क वितरण गरिनेछ । वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले औषधिको गुणस्तर र प्रभावकारितामा उच्च संवेदनशीलता अपनाई माग पूर्ति गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Facebook Comments Box