वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि
वीरगञ्ज, २१ कात्तिक – गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको पहिलो तीन महिनामा रु २६ अर्ब ५९ करोड बराबरका सामान निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा रु ८ अर्ब ८४ करोडको मात्र निर्यात भएको थियो ।
उहाँका अनुसार यस अवधिमा रु १३ अर्ब ९८ करोड मूल्य बराबरका ६ करोड ७१ लाख ३ हजार ३०८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी, रु २ अर्ब ७ करोड मूल्यका २ करोड १२ लाख ४८ हजार ३८३ लिटर जुस, रु १ अर्ब ७० करोड मूल्यका ३ करोड ६८ लाख ४८ हजार ३०८ लिटर सूर्यमुखीको प्रशोधित तेल, रु ९७ करोड मूल्यका २ करोड ४९ लाख ५ हजार १८५ थान कपडा र रु ६६ करोड मूल्य बराबरका सेन्थेटिक यार्न निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका अनुसार वीरगञ्ज नाकाबाट निर्यात बढ्नुमा प्रशोधित तेल, जुस र कपडाजस्ता वस्तुको अन्तर्राष्ट्रिय माग उच्च रहनु प्रमुख कारण हो ।

