युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, २० कात्तिक – युद्ध र सशस्त्र द्वन्द्वका समयमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस आज (नोभेम्बर ६) विश्वभर मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो। यसको उद्देश्य युद्ध र द्वन्द्वले वातावरणमा पार्ने नकारात्मक असरबारे चेतना जगाउनु हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो शान्ति र द्वन्द्व रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षाको भूमिका अत्यन्त महत्वपूर्ण छ। संस्थाले जीविकाको आधार बन्ने प्राकृतिक स्रोतसाधन र पारिस्थितिक प्रणालीको संरक्षणबाट मात्र दिगो शान्ति सम्भव हुनेमा जोड दिएको छ।
युद्धका समयमा पानीका मुहान प्रदूषित हुनु, बाली डढिनु, वन फँडानी, माटो विषाक्त बन्नु र जनावरहरूको हत्या जस्ता क्रियाकलापले वातावरणमा गम्भीर असर पार्ने गरेका छन्। युएनइपीका तथ्याङ्कअनुसार विगत ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमध्ये कम्तीमा ४० प्रतिशतमा काठ, हीरा, सुन, तेल, उर्वर भूमि र पानीका स्रोतजस्ता बहुमूल्य प्राकृतिक स्रोतहरूको दुरुपयोग भएको छ।
यसै अवसरमा जारी सन्देशमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अपरिहार्य रहेको उल्लेख गर्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरुपयोगविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। महासचिव गुटेरेसले भनेका छन्, “हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन। युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो।”

