पूर्वसैनिक घलेको लाभदायक ‘ड्रागन फ्रुट’ खेती


सुनसरी, २० कात्तिक – करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेपछि अवकाश प्राप्त कृपाश्वर घले गुरुङ अहिले व्यावसायिक कृषक बनेका छन्। उनी सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आइरहेका छन्। घलेले विसं २०७४ सालमा स्थापना गरेको तर्जुमा ड्रागन फ्रुट कृषि फार्म बाट वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन्। हाल एक बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिएको छ।

उनका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो–पिङ प्रजातिको एउटा बिरुवाबाट खेती सुरु गरिएको थियो। सुरुमा फलको बजार मूल्य र स्वास्थ्य फाइदाबारे पर्याप्त जानकारी नभए पनि माग र मूल्य बढ्दै जाँदा खेती विस्तार गर्दै लगिएको हो। अहिले यही खेती मुख्य आम्दानीको स्रोत बनेको उनले बताए।

“फार्ममा अहिले करिब २५० बोट ड्रागन फ्रुट छन्,” गुरुङ भन्छन्, “अरू फलफूल वर्षमा एकपटक मात्र फल्छन्, तर ड्रागनले वर्षमा नौ पटकसम्म फल दिन सक्छ। त्यसैले आम्दानी स्थिर रहन्छ।” उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ।

वार्षिक चार लाख रुपैयाँभन्दा बढीको बिरुवा बिक्री हुने गरेको उनले बताए। पहिले प्रति बिरुवा रु २०० देखि ४०० सम्ममा बिक्री हुने गरेकोमा अहिले मागअनुसार रु ५० देखि ७० मा बिक्री भइरहेको छ। फल भने खुद्रा बजारमा प्रतिकिलो रु ४०० र होलसेलमा रु ३५० मा बिक्री हुन्छ।

फार्ममा दुई जना स्थायी कर्मचारी मासिक रु १५ हजार तलबमा कार्यरत छन् भने दैनिक रु ७०० ज्यालादरमा दर्जनभन्दा बढी कामदारले रोजगारी पाएका छन्। फल टिप्ने र मल हाल्ने मौसममा कामदार संख्या अझ बढ्ने गरेको छ। घलेका अनुसार फार्म सञ्चालन, मलखाद, औजार र श्रमिक खर्च गरेर वार्षिक करिब रु आठ लाख खर्च हुने गर्छ।

गत वर्ष २२ मेट्रिकटन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी फलाएको छ। उत्पादन धरान, इटहरी, इनरुवा, विराटनगर, काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाइन्छ। रोजगारी र आम्दानी दुवैको सम्भावना देखिँदा पछिल्ला वर्षहरूमा यस खेतीतर्फ युवाको आकर्षण बढ्दै गएको छ।

अवकाशपछि कृषि उद्यममा लागेका घले भन्छन्, “देशमै बसेर कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ।” हाल रामधुनी नगरपालिका–७ मा मात्र १० भन्दा बढी घरधुरीले ड्रागन फ्रुट खेती गरिरहेका छन्। विदेशबाट फर्केका युवाहरू पनि यो व्यवसायमा आकर्षित भइरहेका छन्।

Facebook Comments Box