दाजुभाइप्रति समर्पित ‘सामाचकेवा’ पर्वको समापन गर्दै मिथिलानी

महोत्तरी, १८ कात्तिक – मधेसको प्राचीन मिथिला क्षेत्रमा यस वर्षको ‘सामा’ पर्व वर्षाको कारण अपेक्षित उत्साहका साथ मनाउन नसकिए पनि मिथिलानीहरू अहिले यसको समापनको तयारीमा व्यस्त छन्। दाजुभाइप्रति प्रेम, समर्पण र आशीर्वादको प्रतीक मानिने यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिनसम्म मनाइन्छ। लगातार पाँच दिनको वर्षाले यो वर्षको सामा खेल प्रभावित बनाएको भङ्गाहा–७ की रङ्गिला चौधरी थारु बताउँछिन्।

“मौसमले साथ नदिँदा राम्ररी खेल्न पाएका छैनौँ, तर अब समापनको तयारीमा छौँ। दाजु आउँदै हुनुहुन्छ,” उनले भनिन्। मिथिलाको लोकपरम्परामा सामाचकेवा (बोलीचालीमा ‘सामा’) दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय स्नेह र पारिवारिक नाताको प्रतीक हो। समूहमा महिलाहरू राति टोलभरिका साथीभाइसँग गीत गाएर, नाचगान गर्दै यो पर्व मनाउँछन्।

कात्तिक पूर्णिमासँगै समापन नजिकिँदा मिथिलानीहरू दाजुभाइलाई निम्तो पठाउँदै मिष्ठान्न परिकार तयार गर्न व्यस्त छन्। “भैयाके खबर कैने छि, ओ अयबे करता,” (दाजुलाई खबर गरेकी छु, उहाँ आउँदै हुनुहुन्छ) भन्दै बर्दिवास–२ की सङ्गीता मुखिया दाजुका लागि परिकार तयार गर्दै थिइन्।

बर्दिवास–९ की सुधा महतो भन्छिन्, “राति साथीहरू भेला भएर दाजुभाइ सम्झँदै गीत गाउँछौँ, रमाइलोमा ११ दिन कहिले बित्छ थाहा नै हुँदैन।” मिथिलानीजस्तै दाजुभाइहरू पनि यो पर्वको प्रतीक्षा गर्छन्। “दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेम र आशीर्वादले ऊर्जा मिल्छ,” भन्छन् भङ्गाहा–४ का नन्दन चौधरी थारु। सामा गीतहरूमा दाजुभाइको दीर्घायू र बहादुरीको प्रशंसा गरिन्छ।

“कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार।”
(हे दाजुभाइ, सामा फेरि कात्तिकमा अवतरित भएकी छन्, तिमी सयौँ वर्ष बाँच्छौ।)

पर्वमा मिथिलानीहरूले सामाचकेवा, सतभैया, चुगला र वृन्दावनका माटाका आकृति बनाएर गीत गाउने गर्छन्। हरेक रात ‘चुगला’ (कुरा लगाउने पात्र) को दाह्रीमा आगोले झोस्ने प्रचलन छ। अन्तिम दिन दाजुभाइका हातबाट ती आकृति फुटाएर खेत वा वनमा गाडिन्छ र त्यसपछि मिष्ठान्न खुवाएर पर्वको समापन गरिन्छ। साथै, दाजुभाइहरूले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र वा नगद दक्षिणा दिने चलन पनि रहिआएको छ। यो परम्परा द्वापरयुगदेखि चलेको मानिन्छ।

पौराणिक कथाअनुसार, भगवान् कृष्णकी छोरी सामाले चकेवा नामक युवकसँग प्रेम गरेकी थिइन्। एक चुगलाले कुरा लगाउँदा कृष्णले रिसमा दुवैलाई चराको रूप दिनुभएको थियो। पछि कृष्णका पुत्र साम्बले भगवान् शिवको तपस्या गरी पिता रिझाएर दुवैलाई श्रापमुक्त गराए। त्यसैको सम्झनामा दाजुभाइप्रति कृतज्ञता व्यक्त गर्न सामाचकेवा पर्व मनाउने चलन बसेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ, मटिहानीका प्राचार्य हेमनारायण कर्ण बताउँछन्।

Facebook Comments Box