लम्सुवाघाट पक्की पुल १५ वर्षदेखि अलपत्र, स्थानीयवासी निराश

भोजपुर, १८ कात्तिक – भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमाथि निर्माणाधीन लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन। करिब रु चार करोड खर्चिसक्दा पनि पुल अधुरै रहँदा स्थानीयवासी निराश बनेका छन्।

वि.सं. २०६७ मा सुरु गरिएको १७२ मिटर लामो पक्की पुल निर्माणका क्रममा हालसम्म छ वटा पिलरको आधार मात्र तयार भएको छ। त्यसपछि काम रोकिएर पुल अलपत्र बनेको हो। षडानन्द–६ का वडाध्यक्ष सुमन विसुङ्केका अनुसार संघीय सरकारले करिब चार करोड रुपैयाँ खर्च गरे पनि पुल निर्माणको काम अघि बढेको छैन।

“लम्सुवाघाट पुल निर्माण लामो समयदेखि अलपत्र छ,” वडाध्यक्ष विसुङ्केले भन्नुभयो, “राज्यको चार करोड रुपैयाँ खर्च भएपछि पनि काम रोकिएको छ। स्थानीयवासी १५ वर्षदेखि पुल बन्ने प्रतीक्षामा छन्।”

पुल निर्माण नहुँदा भोजपुर र सङ्खुवासभा बीचको आवागमनमा कठिनाइ व्यहोर्नु परेको स्थानीय भक्तराज विश्वकर्माले बताए।

“राज्यले पुल निर्माणमा बेवास्ता गरेको छ,” उहाँले भन्नुभयो, “१५ वर्षदेखि हामी यही अधुरो पुल हेरेर बस्न बाध्य छौँ। अब सरकार गम्भीर बन्नुपर्छ।”

सम्झौता अनुसार पुल २०७० सालमै सम्पन्न हुनुपर्ने थियो। तर निर्माण कम्पनीले काम अघि नबढाउँदा परियोजना अधुरै छ। पुल किन निर्माण नबढेको भन्ने विषयमा स्थानीयहरू अझै अन्योलमा छन्।

Facebook Comments Box