‘जाउँ है बेगनास पोखरा’ अभियान बर्दियाको ठाकुरबाबामा
बर्दिया, १८ कात्तिक – आन्तरिक पर्यटन प्रवर्द्धन र प्रदेशबीचको पर्यटकीय साझेदारी विस्तार गर्ने उद्देश्यसहित पोखराबाट सुरु गरिएको ‘जाउँ है बेगनास पोखरा’ अभियान सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेको छ। अभियान टोलीले स्थानीय पर्यटन व्यवसायीसँग आपसी सहकार्य र साझेदारीबारे छलफल गरेको छ।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना तथा नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष–२०२५को सहयोगमा सुरु गरिएको तीनदिने कार्यक्रम अन्तर्गत टोलीले बेगनास र बर्दियाबीच पर्यटकीय सहकार्यका सम्भावनाबारे विचार–विमर्श गरेको हो।
कार्यक्रम पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा सम्पन्न भएको थियो। सहभागीहरूले बर्दिया र बेगनास दुवै क्षेत्र प्राकृतिक, जैविक र सांस्कृतिक दृष्टिले समान विशेषता बोकेका हुनाले सहकार्यले दुवैलाई लाभ पुर्याउने निष्कर्ष निकाले।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपालमा अपार पर्यटकीय सम्भावना रहेको बताउँदै राज्यका तीनै तहले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधारमा जोड दिनुपर्ने बताए। “पोखरासँगको साझेदारीमार्फत दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिन्छ,” उनले भने।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक तथा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले बेगनासतालसहितका सात ताल, हिमाली दृश्य र जैविक विविधताले लेखनाथ क्षेत्रलाई विशेष बनाएको बताए। उनले बर्दियामा पनि चरा पर्यटन र वन्यजन्तु अवलोकनजस्ता समान अवसर भएकाले सहकार्य गरेर दुवै क्षेत्र लाभान्वित हुन सक्ने बताए।
कार्यक्रममा उनले बेगनास क्षेत्रका तालतलैया र अन्य आकर्षण समेटिएको श्रव्य–दृश्य सामग्री पनि प्रस्तुत गरे। एशोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा हिमाल हेरेर फुटबल खेल्न सकिने भण्डारढिकस्थिल खेलमैदानलगायत पूर्वाधार रहेको जनाउँदै पोखरा आउने पर्यटकलाई बर्दिया पठाउन र बर्दिया आउनेलाई बेगनास क्षेत्र अवलोकन गराउन आग्रह गरे।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले बर्दियालाई विश्वका बाघ हेर्ने प्रमुख गन्तव्यका रूपमा विकास गर्न लागिएको बताउँदै “प्राकृतिक रूपमा समृद्ध पोखरासँग सहकार्य गरेर पर्यटन विस्तार गर्न सकिन्छ” भनिन्।पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले कास्की र बर्दियामा रहेका पर्यटकीय सम्भावना उजागर गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुञ्जका कारण बर्दिया अन्तर्राष्ट्रिय स्तरमा परिचित बन्दै गएको जनाउँदै पोखरासँगको सहकार्यले पर्यटन विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरे। कार्यक्रममा हान बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पनि बेगनास र बर्दियाबीचको सहकार्यले दुवै गन्तव्य लाभान्वित हुने धारणा राखे।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानेका अनुसार, प्रवर्द्धन टोली आज सुर्खेत पुगेर त्यहाँका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरी पोखरा फर्किने छ।

