सरकारद्वारा जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा

काठमाडौं, कार्तिक  – सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ। राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीदको सम्मान दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालय अन्तर्गतको अध्ययन समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले संकलन गरेको प्रतिवेदनका आधारमा ती ४५ जनालाई शहीद घोषणा गरिएको हो।

“खासगरी गृह मन्त्रालयको समन्वयमा तयार पारिएको प्रतिवेदनका आधारमा ४५ जनालाई मात्र शहीदका रूपमा घोषणा गरिएको छ। अन्य थपको विषयमा हाललाई अध्ययन हुने छैन,” मन्त्री खरेलले भने।

यसैबीच, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार ती शहीदहरूको नाम आगामी राजपत्रमा आधिकारिक रूपमा प्रकाशित गरिने जानकारी दिएका छन्।

सरकारको यस निर्णयसँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारहरूले राज्यको मान्यता प्राप्त गर्ने भएका छन्।

Facebook Comments Box